समाचार

विमानस्थलबाट गाँजासहित दुईजना भारतीय पक्राउ



काठमाडौँ, १३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ८ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू भारतीय नागरिक हुन् । 

प्रहरीका अनुसार आज बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट विमानस्थल ओर्लिएका उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूको साथबाट थाइल्यान्डबाट ल्याएको ८ केजी ६६६ ग्राम गाँजा बरामद गरिएको हो । 

प्रहरीले पक्राउ परेका आरोपीहरूको नाम सार्वजनिक गरेका छैन । घटनाबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । भारतीयहरूबाट बरामद गरिएको गाँजाको अवैध बजार मूल्य करिब १ करोड ३० लाख पर्ने अधिकृतहरू बताउँछन् ।

भारतीयहरूले च्यावनप्रास, कस्मेटिक आइटम र चकलेटको बट्टामा लुकाएर गाँजा ल्याएको भेटिएको छ ।