समाचार

४१८ किलो गाँजासहित चार जना पक्राउ



सुनसरी, २३ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेहरू धरान उप-महानगरपालिका-१३ का थमन राई, नेभन्ज्याङ गाउँपालिका-५, ओखलढुङ्गा जीवनी राई, कटहरी गाउँपालिका-३, मोरङका अमर कामत र कटहरी गाउँपालिका-३, मोरङका शंकर चौधरी रहेका छन् ।  पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।