समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ



काठमाडौँ, १२ मंसिर । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–२८, टुकुचास्थित खसी बजारमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ती व्यक्तिहरूलाई बाख्रीको मासु अन्दाजी ५६७ केजी, बीएडी ५७६० नम्बरको भ्यान र ‘बा २० च ६३४६’ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौँको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सोरुकोट घर भई काठमाडौँको टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ र ललितपुरको महालक्ष्मी नगरपालिका–५ घर हुने ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई काठमाडौँको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ, घर ठेगाना नखुलेका २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर हुने २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौँको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पक्राउ परेका छन् ।