अर्थ

२४ लाखबढी नगदसहित दुई जना पक्राउ



काठमाडौँ, २५ साउन । स्रोत नखुलेको लाखौँ नगदसहित प्रहरीले काठमाडौँका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपियाँसहित स्याङ्जा वालिङ नगरपालिका–६ घर भई बानेश्वर बस्ने ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

 प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२–०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगदसहित फेला पारेर नियन्त्रणमा लिएको थियो।

यसैगरी काठमाडौँ महानगरपालिका–२८ स्थित कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको ४ लाख ८ हजार रुपियाँसहित कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनलाई उक्त नगदसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।