काठमाडौँ, २७ साउन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ ।
कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो ।
दुई महिनादेखि भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो ।
दिउँसो नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिए ।
अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन (वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने), पाँच स्थानमा सीसीक्यामेरा जडान, तीन स्थानमा खोर ट्यापिङ, तीन स्थानमा खुट्टा ट्यापिङ (खुट्टा अल्झाउन)का लागि काम गरिएको उनले जानकारी दिए ।
चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली खटिएको उनले बताए ।
ती खोर ट्यापिङको काम चितुवालाई सहज हुनेगरी राखिएको छ । अहिले सो क्षेत्रमा एउटा माउ र एउटा बच्चा चितुवा रहेको उनले जानकारी दिए ।
उनका अनुसार एउटा बच्चा चितुवा भरतपुर–१५ बाट नियन्त्रणमा लिइसकिएको छ । सो बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगरे राखिएको छ । चितुवाको पाइलाका आधारमा खोरहरू स्थानान्तरण गरेर राख्ने गरिएको छ ।
सो कार्यमा लागेका डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरको गाई अनुसन्धान कार्यक्रमको आवास क्षेत्रमा दुईपटक चितुवा देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्