काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलताको मानक पद वा सत्ता मात्र हुन नसक्ने बताएका छन्।
आज धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन समारोहमा बोल्दै सभापति थापाले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन नैतिक बल र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्नेमा जाेड दिए ।
सत्ता र पद मात्र सफलताको मापन नभएको थापाले बताए । उनले भने, ‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन। लेखक धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ ।’
सभापति थापाले २०३३ सालमा बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीति केवल रणनीतिक मात्र नभई मूल्य र मान्यतामा आधारित रहेको बताए ।
उनले भने, ‘बीपीका लागि लोकतन्त्र युनिभर्सल थियो। भारतमा सङ्कटकाल लाग्दा बीपीले त्यसको विरोध गर्नुभयो किनकि उहाँका लागि लोकतन्त्र जहाँ पनि उत्तिकै महत्त्वपूर्ण थियो,’ ‘अहिले पनि कांग्रेसले बीपीले जस्तै नागरिकको अधिकार र राष्ट्रियतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’










प्रतिक्रिया दिनुहोस्