समाचार

१३ जना फरार प्रतिवादी पक्राउ



काठमाडौँ, ४ भदौ । रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहसम्बन्धी मुद्दाका प्रतिवादी छन् ।

पक्राउ परेका १३ जनामाथि अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्युतीय अपराध मुद्दामा २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, लागूऔषध मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना र बिगो मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो ।

त्यस्तै, चोरीसम्बन्धी कसुरमा १ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, अभद्र व्यवहारमा २ महिना तथा बहुविवाह मुद्दामा १ वर्ष २ दिन कैद सजाय अदालतले सुनाएको थियो ।

कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा भने अदालतको फैसलाअनुसार विभिन्न रकम जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । रौतहट प्रहरीले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ ।