काठमाडौँ, ५ भदौ । काठमाडौँको शंखमुलमा युवकको हत्या गरेर भागेका अर्का एकजना आरोपी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई मकवानपुरको भैंसेबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरिएको हो ।
आज महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय बसन्त कालाखेतीको हत्या भएको थियो ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाखेतीलाई बिहान १० बजेतिर दुईजना मिलेर धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका कालाखेतीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपमा बाराको कलैया उपमहानगरपालिका–३ घर भएका शेखर यादव यसअघि पक्राउ परेका थिए । घटनास्थलमा उपस्थित अरू ४ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरले सोधपुछ गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्