भक्तपुर, ८ भदौ । भक्तपुर जिल्लामा योगलाई संगठित र संस्थागत रूपमा स्थापित गरेको दुई दशक पूरा भएको सन्दर्भमा सूर्यविनायकस्थित शुभकामना सामूहिक योग साधना केन्द्रले सोमबार आफ्नो २० औं स्थापना दिवस तथा वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।
पातञ्जल योग समिति नेपाल शुभकामना सामूहिक योग साधना केन्द्रको आयोजनामा भएको कार्यक्रमले दुई दशकअघि सानो चासोबाट सुरु भएको योग अभियान आज देशभर फैलिएको यात्रालाई सार्वजनिक रूपमा स्मरण गर्यो । कार्यक्रमकै विशेष उपलब्धिका रूपमा प्रारम्भिक योग प्रशिक्षक तालिम उत्तीर्ण गरेका ३३ जनालाई प्रमाणपत्र वितरण गरी दीक्षित गरिएको छ, जसले भक्तपुरमा योग प्रशिक्षकको संख्या थप विस्तार हुने देखिएको छ ।
यसैगरी पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य तथा साँस्कृतिक विभाग अध्यक्ष एवं राष्ट्रिय संगीतकार बद्रीनारायण ताम्रकारको नेतृत्वमा कलाकार टोलीले विशेष सांगीतिक सत्सङ्ग प्रस्तुत गरी कार्यक्रमलाई थप रसिलो बनायो । कार्यक्रममा उपस्थित अतिथिहरूले भक्तपुरमा योगको विगत २० वर्षको यात्रालाई संस्थापक सदस्यहरूको त्याग र समर्पणको प्रतिफल भन्दै निरन्तरतामा जोड दिएका छन् ।
पातञ्जल योग समिति नेपालका प्रमुख संरक्षक डा.चन्द्रमणी खनालले प्रमुख अतिथ्यता ग्रहण गर्दै विशेष मन्तव्य राखेका थिए भने संरक्षक बालमुकुन्द सुवाल र संरक्षक सदस्य शंकर मानन्धरले विशिष्ट आतिथ्यता सहित मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता पातञ्जल योग समिति नेपाल भक्तपुर नगर समितिका अध्यक्ष मदन लोहलाले गरेका थिए ।
आयोजकको तर्फबाट चित्रा किसीले उपस्थित सबैलाई स्वागत गरेकी थिईन । संस्थाको वार्षिक प्रगति प्रतिवेदन लक्ष्मीनारायण श्रेष्ठले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रन्जना लोइलाले आयव्यय विवरण प्रस्तुत गरेकोमा साधारणसभाबाट दुवै प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो । पातञ्जल योग समिति नेपालका संस्थापक एवं वर्तमान अध्यक्ष सुदर्शन सुवेदी र महासचिव नबराज काफ्लेले पनि विशेष आतिथ्यता सहित मन्तव्य राख्दै संस्थाको भावी दिशाबारे धारणा राखेका थिए । केन्द्रीय उपाध्यक्ष योग प्रसाद आचार्य, केन्द्रीय सदस्य एवं जिल्ला शाखा भक्तपुर अध्यक्ष रिता पाख्रीन र साधना केन्द्रका संस्थापक सदस्य एवं केन्द्रीय सदस्य मेनुका प्रधानले पनि आ-आफ्ना मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य बुद्धलक्ष्मी किसीले गरेकी थिइन् । कार्यक्रममा पातञ्जल योग समिति नेपालका सचिव बालकृष्ण प्रधान, केन्द्रीय सदस्यहरू हेमा प्रजापति र उमेशमान मधिकर्मी, केन्द्रीय महिला विभाग कोषाध्यक्ष इन्दु लम्साल काफ्ले, वागमती प्रदेश सदस्य मनिषा भुजु लगायत जिल्ला, नगर तथा साधना केन्द्रका पदाधिकारी, सदस्य र योग साधक–साधिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भक्तपुर जिल्लामा योगलाई संगठित रूपमा स्थापना गर्ने क्रममा आजभन्दा २० वर्षअघि शुभकामना सामूहिक योग साधना केन्द्र र शुभकामना बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरू बालमुकुन्द सुवाल, मेनुका प्रधान, न्हुच्छेकुमार त्वायना, नित्यनाथ श्रेष्ठ, राजेशबहादुर श्रेष्ठ र संगिता कसजुले सामूहिक रूपमा शुभकामना पार्टी प्यालेसमा योगको बीजारोपण गरेका थिए । त्यतिबेला रोपिएको त्यही बिउ आज भक्तपुरलगायत देशभरका योग अभियानमा जोडिने धेरै योग साधक तथा अभियन्ताको योगदानसँगै विस्तारित रूपमा फस्टाइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्