Banner News

राज्यको हस्तक्षेप र राजनीतिले शिक्षा प्रणाली ध्वस्त बनायो : पूर्वराष्ट्रपति यादव



काठमाडौँ, २१ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् ।

शनिबार पी.पी. प्रसाईं फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले पहिले समुदायले सञ्चालन गरेका शिक्षण संस्थाहरू उत्कृष्ट रहेको स्मरण गर्दै सरकारीकरण र राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बनाएको बताए ।

उनले भने, ‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो । जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए । तर, जब राज्यले जिम्मा लियो– राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो । आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन, अंग्रेजीको भए नेपालीको छैन । यो हालत छ ।’

डा. यादवले पछिल्लो समय जलवायु परिवर्तन र मानवीय दोहनका कारण प्राकृतिक विपद् बढेको भन्दै वातावरण संरक्षणमा सचेत हुन आग्रह गरे । हाम्रा पहाडहरू भत्किँदै गइरहेको र विश्व नै वातावरणीय संकटतर्फ धकेलिएको भन्दै उनले प्रकृति र वातावरण शिक्षामा नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता औंल्याए ।