समाचार

१५१ किलो गाँजा बरामद



काठमाडौँ, २१ भदौ । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

शनिबार राति करिब १०ः३० बजे पचरौता नगरपालिका–७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा प्रहरी टोलीले १५१ किलो गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंहको नेतृत्वमा र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले धानखेतको आलीको बाटो हुँदै ८–९ जना अपरिचित व्यक्तिहरू पिठ्युँमा झोलाजस्तो बनाएर केही बोकेर आउँदै गरेको देखेको थियो।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लखेटेपछि ती व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएका थिए। प्रहरीले बरामद गरेका गाँजाका पोका तौल गर्दा जुटको बोरासहित प्रत्येक पोका करिब १६.७७ किलो रहेको र ९ वटा पोकामा कुल १५१ किलो गाँजा फेला परेको हो ।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको छ । गाँजा फालेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।