समाचार

भोटेकोशी बाढी : डीएनए परीक्षण तीव्र



काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ ।

शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो ।

नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त भएका‘डीएनए’ नमुनाको परीक्षण गरिरहेको छ । नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ । विपद्पछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको हो ।

प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट सङ्कलित ३४८ वटा नमुना र ८४ वटा मृतकका औँलाछापसम्बन्धी नमुना गरी जम्मा एक हजार २४० वटा नमुना ‘डीएनए’ तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ । हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका एक हजार २८६ तथा आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६७८ डिएनए नमुना सङ्कलन गरिएको छ ।

मृतकबाट सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासीपूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ । अन्य जिल्लाबाट नमुना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको छ ।