राजनीति

बागमती प्रदेशसभामा राप्रपाका ५ सांसदलाई पदमुक्त गर्न अस्वीकार



मकवानपुर, २५ भदौ ।  बागमती प्रदेशसभा सचिवालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ जना प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्न गरिएको सिफारिसलाई अस्वीकार गरेको छ।

पूर्वसभामुख भुवन कुमार पाठक सहित ५ जनालाई पदमुक्त गर्न गरिएको राप्रपाको सिफारिसमा उपसभामुख अप्सरा चापागाईंले पदमुक्त नगर्ने निर्णय गरेकी हुन् । राप्रपा संसदीय दल बागमतीका प्रमुख सचेतक डम्बर तामाङले पार्टीका ५ सांसदलाई पदमुक्त गर्न सचिवालयमा दिएको पत्रमाथि कारबाही गर्दै उपसभामुख चापागाईंले उनीहरू पदमुक्त नहुने निर्णय गरेकी हुन् । कारबाहीका लागि सिफारिस गरिएका सांसदहरूमा पूर्व सभामुख पाठक सहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्। प्रमुख सचेतक तामाङले भदौ २४ गते उनीहरूलाई पदमुक्त गर्न सचिवालयमा पत्र दर्ता गराएका थिए । 

प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव (कानून) प्रकाश चापागाईंका अनुसार प्रक्रिया नपुगेको र अधिकारक्षेत्र बाहिरको निर्णय भएको ठहर सहित उपसभामुख चापागाईंले ५ सांसदलाई पदमुक्त गर्न अस्विकार गरेकी हुन् । संसदीय दलले गरेको कारबाहीको प्रक्रिया क्षेत्राधिकार बाहिर र प्रथम दृष्टिमै कानुनविपरीत देखिएकाले उक्त निर्णय बदर गरिएको प्रवक्ता चापागाईंले बताए ।

नेपालको संविधानको धारा १८० को खण्ड (ङ), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८, २८ र ३२ तथा राप्रपाको विधान २०४८ को दफा २९ (१३) अनुसार सांसद निष्काशन गर्ने अधिकार सम्बन्धित दलको केन्द्रीय समितिमा मात्र निहित रहेको उनको भनाइ छ ।