राजनीति

प्रतिपक्षको संसदीय भूमिकाले प्रभावित बनायो : मन्त्री गौतम



काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै मन्त्री गौतमले प्रश्न गर्ने, विषयको गहिराइमा पुगेर तर्क गर्ने र फरक धारणा तथा सुझाव राख्ने क्रममा पक्ष–प्रतिपक्षभन्दा माथि उठेर बहस भएको भन्दै प्रशंसा गरेकी हुन् । उनले आफूले देख्न चाहेको संसद् पनि यस्तै भएको उल्लेख गर्दै पक्ष र प्रतिपक्ष दलभन्दा माथि उठेर बहस हुनुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले संयुक्त राष्ट्रसंघीय समुद्री कानुन महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘पछिल्लो दुई दिनको प्रतिनिधिसभा बैठकले मलाई साँच्चै प्रभावित बनाएको छ । विशेषगरी प्रतिपक्षका माननीयज्यूहरूको संसदीय भूमिकाले । प्रश्न गर्नुभयो, विषयको गहिराइमा पुगेर तर्क गर्नुभयो, फरक धारणा र सुझाव राख्नुभयो । अनि विषय उचित लाग्दा खुला मनले समर्थन पनि गर्नुभयो ।’