अर्थ

स्रोत नखुलेको २ लाख ५४ हजारसहित दुई जना पक्राउ



काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार शुक्रबार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि संयुक्त चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–७ लौकाहा निवासी २६ वर्षीय सञ्जिव पण्डित र सोही स्थानका १८ वर्षीय रितिक दास रहेका छन् । उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद २ लाख ५४ हजार रुपैयाँ, चाँदीजस्तो देखिने २ थान पायल, २ थान मोबाइल फोन तथा मोटरसाइकल बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।