अर्थ

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँ : मुख्यमन्त्री भट्ट



काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस हुने बताएका छन् ।

मुख्यमन्त्री भट्टका अनुसार बजेट निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ । यसअघि उनले भदौ मसान्तभित्रै बजेट ल्याउने बताएका थिए । विभिन्न राजनीतिक तथा प्रशासनिक विषय मिलाउन समय लागेपछि निर्धारित समयभित्र बजेट ल्याउन नसकिएको उनको भनाइ छ ।

आर्थिक मामिला मन्त्रालयले बजेट तर्जुमासम्बन्धी मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ। प्रदेश सरकारले असोज ७ गतेदेखि प्रदेशसभा सदस्यहरूबाट योजना सिफारिस लिने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिए। ‘अबको तीन–चार दिनमा धेरैजसो काम पूरा हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट पारित हुन सकेको छैन।