काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित ‘समूह(७७ र चीन’ को ५०औँ वार्षिक बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताए ।
उनले संयुक्त राष्ट्रसंघ केन्द्रित नियममा आधारित बहुपक्षीय प्रणालीलाई थप सुदृढ गर्न, पर्याप्त तथा सुलभ वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उल्लेख गरे । आर्थिक तथा डिजिटल रूपान्तरणमार्फत विद्यमान असमानता घटाउनुपर्नेमा पनि उनले जोड दिए ।
नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु न्यायको आवश्यकता औँल्याए ।










प्रतिक्रिया दिनुहोस्