समाचार

आजको मौसम



काठमाडौँ, १२ असोज । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । यस्तै पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ । देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।