म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । विपद्मा परी सात जनाको ज्यान गएको छ । यस्तै, दुई जना बेपत्ता भएका छन् ।
विपद् संकटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई प्राथमिकता दिन गृहमन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेकाले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए ।
हालसम्म बाढी पहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एक घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ । बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ । बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् ।
बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन् । बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एक वटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको विवरण संकलन भएको छ ।










प्रतिक्रिया दिनुहोस्