अर्थ

६९ देशका ६४८ जनालाई हिमाल आरोहण अनुमति



काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।

अनुमति लिनेमा ७१ समूह छन् । त्यसमा ४८५ पुरुष र १६३ महिला रहेका विभागले जनाएको छ । अनुमति लिनेमा अस्ट्रेलियाका १७, क्यानडाका १६, जापान २१का, भारतका १८, अमेरिकाका ४१, बेलायतका ३८, स्पेनका १५, स्वीट्जरल्यान्डका १३, रुसका ५७, पोल्यान्डका १९, नेपालका २०, चीनका ११८ आरोही छन् ।

यस्तै, जर्मनीका ३४, फ्रान्सका ५१, बेल्जियमका सात, बुल्गेरियाका पाँच, चेक रिपब्लिकका १६, अर्जेन्टिनाका सातजना रहेका विभागले जनाएको छ । अरू केही देशका आरोहीले पनि अनुमति लिएका छन् ।

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको छ । मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गर्न सबैभन्दा धेरै अनुमति लिइएको छ ।

मनास्लु आरोहणका निम्ति मात्र ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

धौलागिरि–१ आरोहणका निम्ति चार टोलीका ३४, पुथा हिउँचुलीका लागि दुई टोलीका २०, डांगा हिउँचुलीका निम्ति दुई टोलीका १६, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् । यस्तै, मकालु, गंगापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका निम्ति अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।