समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १९ असोज । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापा छन् ।

सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको हो । घाइते सागरको अवस्था भने सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।