भक्तपुर, १२ मंसिर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेश अन्तरगत छुट्टै फोहोरमैला व्यवस्थापन ऐन तयार गरिरहेको जानकारी गराउनुभएको छ ।
नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्रविधिक सहयोगमा राधेराधेमा आयोजित खुल्ला रक्तदान तथा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सफा, सुन्दर तथा प्राकृतिकमैत्री प्रदेश निर्माण गर्न फोहोरमैला व्यवस्थापन मुख्य चुनौती रहेकाले प्रदेश सरकारले ऐन तयार गर्ने क्रममा अगाडी बढेको उल्लेख गर्नुभयो । वातावरण सरसफाइ र हरियालीसँगै जनताको मन पनि सोही अनुसारको बनाउनुपर्नेमा जोड दिँदै उहाँले ऐनलाई पूर्णता दिनको लागि सम्बन्धित निकाय वा सरोकारवाला सरकारी तथा निजी संघसंस्थाहरुसँग छलफल गरेर टुंग्याउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेप्सेम्याक, फूलवारी, स्वच्छ वातावरण केन्द्र जस्ता गैरसरकारी संस्थाहरुले स्थानीय तहको सहकार्यमा संवैधानिक रुपमा सरकारले गर्नु फोहोरमैला व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी लिई राज्यलाई नै ठूलो योगदान गर्नुभएको छ, जुन जति तुलना गरेपनि कमै हुन्छ । सरकारको सहयोगी भूमिका निर्वाह गर्नुभएको छ, त्यसैले तपाईहरुको सहयोगलाई उच्च सम्मान गर्दछौं । फोहोर व्यवस्थापन गर्न वर्तमान ऐन अपुरो रहेको छ । त्यसको लागि बागमती प्रदेश सरकारले छुट्टै ऐन बनाउन तयारी गरिरहेको छ । त्यसलाई पूर्णता दिन तपाईहरु सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्ति वा निकायसँग छलफल गर्नेछौं । तपाईहरुले राज्यलाई गरिरहनुभएको सहयोगलाई अझ बढी प्रभवाकारी र सहयोगी बनाउन प्रदेश सरकार कुनै कन्जुस्याई गर्दैन ।’
पछिल्लो तथ्याङ्क अनुसार नसर्ने रोगबाट करिव ७१ प्रतिशत नागरिकको ज्यान गुमाइरहेको उल्लेख गर्दै उहाँले सडक दुर्घटनाबाट प्रायः दैनिक ७ जना तथा क्यान्सरबाट दैनिक ४ जनाले ज्यान गुमाइरहनुपरेको दुःखद् अवस्था रहेको बताउनुभयो । त्यस्तो डरलाग्दो अवस्थाको न्युनिकरण अहिलेको अपरिहार्य रहेको औंल्याउँदै प्रदेश सरकार तथा सम्बन्धित निकायहरु त्यसलाई न्युनिकरण गर्ने व्यवस्थित योजनाका साथ अगाडी बढिरहेको जानकारी गराउनुभयो ।
पछिल्लो समय विशेषगरी भक्तपुर जिल्लामा तिव्र जनसंख्या वृद्धि भइरहेको उल्लेख गर्दै उहाँले सोही अनुसारको विकास र समृद्धिका योजनाहरु समेत अगाडी बढाउनु प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो । स्थानीय तहसँगको सहकार्यमा सफा र स्वस्थ समाज निर्माण गर्न नेप्सेम्याकले गरेको योगदानको प्रशंसा गर्दै उहाँले सो सँगै विकास निर्माणमा समेत जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीका दाहालले फोहोरलाई शुन्यतामा झार्ने रणनीतिका राथ अगाडी बढ्नुपर्नेमा जोड दिँदै आगामी दिनमा तीनवटै तहका सरकारको सहयोगमा फोहोरलाई उत्पादन, रोजगार, उद्योग, विद्युत तथा ग्यास उत्पादन गर्ने प्रविधिसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । पुरानो ऐनले फोहोर व्यवस्थापन गर्न नसकिने औल्याउँदै उहाँले स्थानीय तहको ऐन व्यवहारिक नभएको गुनासो गर्नुभयो । जसको समस्या समाधान गर्न प्रदेश सरकारले आफु मातहतका स्थानीय निकायलाई एकीकृत ऐन जारी गरी कार्यान्वयन गराउन माग समेत गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका सञ्चालक तथा भक्तपुर शाखाका निर्देशक बाबुराम चौलागाईले भक्तपुरमा विभिन्न संघसंस्थाहरुले सञ्चालन गरिरहेका अभियानहरुले फोहोरमैला व्यवस्थापनमा ठूलो सहयोग पुगेको बताउनुभयो । समाजलाई मात्र सफाई गरेर मानवीय जीवन सफा हुन नसक्ने उल्लेख गर्दै उहाँले आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत कर्मचारीहरुको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । कर्मचारीहरु जीवनप्रति संस्थाको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष स्वास्थ्य परिक्षण तथा भक्तपुरमा रगतको अभाव हुन नदिन खुल्ला रक्तदान गरिएको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोम प्रधान, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुका प्रमुख अञ्जना खड्का, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका प्रमुख रामेश्वर थापा, वागमती प्रयोगशालाका प्रमुख नारायण कार्की, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मुख ढुंगेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर तथा दुवाकोट शाखा, स्वच्छ वातावरण समाज केन्द्र, आर.पी रिसाइकलसंकलन तथा व्यवस्थापन तथा अरुण अटोमोवाइल्स प्रा.लिको विशेष सहयोग रहेको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजक गोविन्द आचार्यले गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्