काठमाडौँ, २० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर र ब्राजिलका विदेशमन्त्री माउरो भिएराले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदान प्रदान गरेका हुन्। आफ्नो सन्देशमा परराष्ट्रमन्त्री खनालले ब्राजिलले सामाजिक तथा आर्थिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै जलवायु परिवर्तनको एजेन्डामा ब्राजिलले देखाएको नेतृत्वको सराहना गरेका छन् । उनले ग्लोबल साउथको आवाजलाई बलियो बनाउन ब्राजिलले खेलेको भूमिकाको समेत प्रशंसा गरेका हुन् ।
मन्त्री खनालले नेपाल र ब्राजिलबिच द्विपक्षीय तथा बहुपक्षीय दुवै मञ्चमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले उनले भनेका छन्, ‘नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्याउँछौँ ।’
ब्राजिलका विदेशमन्त्री माउरो भिएराले पनि नेपाल र ब्राजिलबिच मित्रता, पारस्परिक विश्वास तथा साझा मूल्यमा आधारित बलियो साझेदारी रहेको बताएका छन् । उनले दुई देशबिच द्विपक्षीय सहकार्य सुदृढ हुँदै गएकोमा सन्तोष व्यक्त गरेका हुन् ।
भिएराले नेपालको दुग्ध क्षेत्रमा ब्राजिलको सहयोगमा सञ्चालन भइरहेको विकास परियोजनालाई दुई देशबीचको सहकार्यको उदाहरणका रूपमा उल्लेख गरेका छन् । ब्राजिलको सहयोग एजेन्सीको समर्थनमा उक्त परियोजना अघि बढिरहेको छ । उनले नेपाल र ब्राजिल ग्लोबल साउथका सक्रिय आवाज भएको उल्लेख गर्दै बहुपक्षीयता, न्यायपूर्ण तथा शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था र जलवायु कार्यका लागि दुवै देश प्रतिबद्ध रहेको बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्