राजनीति

दीपक भट्टका दुई मुद्दाको सुनुवाइ स्थगित



काठमाडौँ, २० असोज । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । भट्टको मुद्दा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, भट्टका कानुन व्यवसायीले निवेदन दिएसँगै सुनुवाइ स्थगित भएको छ ।

सम्पत्ति शुद्धिकरण तथा विदेशि बिनिमय (नियमित गर्ने) ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुर सम्बन्धी मुद्दामा थुनामा पठाउने विशेष अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन दिएपछि भट्ट सर्वोच्च पुगेका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ मा “थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने” व्यवस्था छ । सोही व्यवस्था अनुसार भट्टले विशेष र उच्च अदालतको आदेश उपर सर्वोच्च अदालत पुगेका हुन् ।

भट्टविरुद्ध दुईवटा फरक–फरक मुद्दामा ठुलो बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । सम्पत्ति शुद्धीकरण विभागले २०८१ चैत १९ गते भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै दायर भएको मुद्दामा भट्टलाई गत असार ५ मा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।