राजनीति

कूटनीतिक नियोगलाई आर्थिक उपलब्धि हासिल गर्ने केन्द्र बनाउन सांसद अर्यालको सुझाव



काठमाडौँ, २७ असोज । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीको कार्ययोजनामाथि संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा छलफल भएको छ ।

नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रस्तावित राजदूत जोशीको प्रस्तुतिको प्रशंसा गर्दै कूटनीतिक नियोगलाई केवल सहकार्यको थलो मात्र नभई राष्ट्रिय हितमा आर्थिक उपलब्धि हासिल गर्ने केन्द्र बनाउन आग्रह गरिन् ।

विभिन्न मुलुकमा नेपाली श्रमिकहरूले भोगिरहेको श्रम शोषण, अवैध भर्ना र कागजात नियन्त्रण जस्ता समस्यालाई जर्मनीमा दोहोरिन नदिन सशक्त संयन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।

सांसद अर्यालले नेपाल र जर्मनीबिच सन् २०२३ मा भएको दक्ष श्रम आप्रवासन तथा ज्ञान आदान-प्रदानसम्बन्धी घोषणालाई कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याएकी छन्। सांसद अर्यालले भनिन्, ‘जर्मनीमा श्रम सम्झौताअनुसार तलब नपाउने, श्रम शोषणमा पर्ने, अवैध भर्ती हुने तथा रोजगारदाताले कागजात नियन्त्रणमा लिने जस्ता समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्न कस्तो संयन्त्र निर्माण गर्नुहुन्छ ?’

उनले आफ्नो कार्यक्षेत्रमा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्ने योजना, सन् २०२३ को संयुक्त घोषणा कार्यान्वयन, व्यापार घाटा घटाउन र जर्मन लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने ठोस योजनाबारे प्रश्न गरिन्।