काठमाडौँ, ३० असोज । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको विधिपूर्वक पूजाअर्चना गरिँदै छ ।
आजको दिन कात्यायनी भगवतीको पूजाआराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई मानिस प्रगतिको पथमा अघि बढ्ने धार्मिक विश्वास छ ।
शास्त्रअनुसार कत ऋषिका पुत्र कात्यको गोत्रमा जन्मिएका विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बालाई आफ्नी पुत्रीको रूपमा पाउन लामो समयसम्म कठिन तपस्या गरेका थिए। भगवतीले उनको प्रार्थना स्वीकार गरी पुत्रीका रूपमा जन्म लिएकाले यिनको नाम ‘कात्यायनी’ रहन गएको हो ।
अर्को पौराणिक प्रसंगअनुसार, ब्रह्माजीबाट कुनै पनि देवता, दैत्य वा पुरुषबाट मारिनु नपरोस् भनी केवल स्त्रीको हातबाट मृत्यु हुने वरदान पाएका महिषासुरले त्रिलोकमा आतङ्क मच्चाएका थिए । देवता, शिव र विष्णुसमेत पराजित भएपछि ब्रह्मा, विष्णु र महेश्वर तीनै जनाले आफ्नो तेजको अंश दिएर महिषासुरको वध गर्न देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका कारण पनि यिनलाई कात्यायनी भनिएको हो । आश्विन कृष्ण चतुर्दशीका दिन प्रकट भएकी देवीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरी दशमीको दिन महिषासुरको वध गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
अमोघ फलदायिनी मानिने कात्यायनी देवीलाई ब्रजमण्डलकी अधिष्ठात्री देवीका रूपमा पनि लिइन्छ । द्वापर युगमा ब्रजका गोपिनीहरूले भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन यिनै कात्यायनी देवीको पूजा यमुना नदीको किनारमा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्