काठमाडौँ, ३१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेको बताएका छन्। यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।
बडादसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिचको सामाजिक एकतालाई थप सुदृढ बनाएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्। यस पर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्दत पुर्याएको उनले बताएका छन् ।
राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराएका छन्। दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उनले उल्लेख गरेका छन् ।
दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्त्व रहेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्