समाचार

विस्फोटक पदार्थ र पटकासहित चार जना पक्राउ



काठमाडौँ, ३१ असोज । काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रबाट ठुलो मात्रामा अवैध विस्फोटक पदार्थ, आतिसबाजी र पटकासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–०७ हरहर महादेवस्थित कवाडी गोदामबाट ठुलो मात्रामा पटका तथा विस्फोटक पदार्थ भण्डारण गरी बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रौतहट गरुडा नगरपालिका–५ स्थायी घर भई काठमाडौँको हरहर महादेव बस्ने ४० वर्षीय नन्दनलाल राय यादव, सर्लाही गोडैता नगरपालिका–११ का ३३ वर्षीय विजय प्रसाद साह, सर्लाही बागमती नगरपालिका–०२ का ३४ वर्षीय अञ्जय चौधरी र सर्लाही वरथवा नगरपालिका–१३ का १९ वर्षीय कोश कुमार साह रहेका छन् । 

प्रहरीले रीतपूर्वक खानतलासी गर्दा गोदामबाट विभिन्न ६३ बोरा तथा कार्टुनमा रहेका २२५०.१३ केजी तौल बराबरको विस्फोटक पदार्थ बरामद गरेको छ । 

पक्राउ परेकाहरूमाथि ‘विस्फोटक पदार्थ भण्डारण तथा बिक्री वितरण गर्न नहुने’ कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।