पेरिस, २ कार्तिक । फ्रान्समा महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेका छन् ।
एलीस प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई स्थिति थप नबिर्गार्न चेतावनी दिएका हुन् । इन्धनको मूल्यवृद्धि, जीवनयापनको उच्च लागत र विद्यालय लगायतका सार्वजनिक सेवामा आएको ह्रासको विरोधमा करिब ५ लाख ५० हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । प्रदर्शन सुरुमा शान्तिपूर्ण रहे पनि पछि उपद्रवमा परिणत भएको थियो ।
राष्ट्रपति म्याक्रोँले प्रदर्शनकारीहरूको ‘वैधानिक माग’ र ‘तोडफोड तथा लुटपाटमा संलग्न समूह’ बिच स्पष्ट भिन्नता हुनुपर्ने बताएका छन् । उनले यस्तो हिंसाको कुनै औचित्य नरहेको उल्लेख गर्दै संलग्नहरूलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारे । उनले भने, ‘हामी सबैले आक्रोश र लज्जा बोध गरेका छौँ ।’
पेरिस, मार्से र लियोँसहितका सहरहरूमा कालो कपडा तथा मास्क लगाएका उपद्रवीहरूले गाडी र भवनहरूमा आगजनी गरेका छन्। आइतबार पनि राजधानीका केही भागमा लुटपाट र झडप जारी रह्यो। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्याँस र स्टन ग्रेनेड प्रहार गरेको छ।










प्रतिक्रिया दिनुहोस्