काठमाडौँ, ६ कार्तिक । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिए ।
यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ (इयु) को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवीय कानूनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ ।
इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्