काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।
कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको उत्पादन भएको छ । यस वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
प्रमुख डा अर्यालका अनुसार हाइब्रिड स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएको छ । स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरुले क्रप कटिङ विधि अनुसार स्याउको औसत उत्पादन मापन गरिएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । यसका अलावा स्याउको उत्पादन परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समन्वय गरिएको हो ।
९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ । यस्तै, १७ करोड ५६ लाख रुपैयाँ बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ । जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी १५१ रुपैयाँ बराबर मूल्य निर्धारण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्