काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।
परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाइएको थियो । उक्त आईडीबाट अश्लील गीतमा फोटो तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्याइएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट उक्त फेक टिकटक आईडी बनाई फोटो तथा भिडियोहरू अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् । उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्