काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा पोखरेलको मृत्यु भएको हो ।
एउटै दिशातर्फ गइरहेको लु.प्र. ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी ४५ वर्षीय पोखरेल घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइए पनि दिउँसो १२:२० बजे चिकित्सले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोख्रेल काठमाडौँबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकका संवाददाता थिए भने रुपन्देहीबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिकका प्रकाशक तथा सम्पादक थिए ।










प्रतिक्रिया दिनुहोस्