एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज गरिदिएका छन् । न्यायाधीशले ट्रम्पको मुद्दालाई ‘आधारहीन तर्कको सहारा लिएर अघि बढाइएको’ भनेका छन् ।
ट्रम्पले गत वर्ष उक्त पत्रिकाको सञ्चालक कम्पनी डाउ जोन्स र त्यसका प्रमुख रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गरेका थिए ।
पत्रिकाले सन् २००३ मा कुख्यात वित्तीय कारोबारी तथा यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको जन्मदिनका लागि तयार पारिएको पुस्तकमा ट्रम्पले लेखेको भनिएको एउटा पत्र सम्बन्धित समाचार प्रकाशित गरेको थियो । त्यतिबेला एपस्टिनमाथि यौन अपराधको आरोप लागिसकेको थिएन ।
ट्रम्पले भने आफूले उक्त पत्र नलेखेको र त्यसमा हस्ताक्षर पनि नगरेको दाबी गर्दै आएका छन् । उक्त पत्रमा आपत्तिजनक खालका शब्दहरू र महिलाको नग्न शरीरको रूपरेखा बनाइएको चित्र रहेको बताइएको थियो ।
न्यायाधीश ड्यारिन गेल्सले उक्त मुद्दा अमेरिकी संविधानको पहिलो संशोधनको मर्मविपरीत रहेको ठहर गर्दै खारेज गरेका हुन् । अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्छ ।










प्रतिक्रिया दिनुहोस्