काठमाडौँ, १७ कार्तिक । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले लामो समयदेखि अल्झिएको मोही जग्गाको समस्या समाधानका लागि म्याद थप गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ साल कात्तिकसम्म र त्यस्तो जग्गाको कारबाही टुंगो लगाइसक्नुपर्ने अवधि २०८६ साल असारसम्म थप गर्ने निर्णय भएको छ ।
यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न सरकारले स्वीकृति दिएको छ । साथै, कृषि क्षेत्रलाई व्यवस्थित गर्न नानो फर्टिलाइजर, बायो स्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्दै मल नियन्त्रण आदेशसमेत स्वीकृत गरिएको छ ।
त्यस्तै बैठकले थप प्रत्यक्ष वैदेशिक लगानी गर्न सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ । कूटनीतिक तथा अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउने सन्दर्भमा टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।
परराष्ट्रमन्त्रीको नेतृत्वमा ६ देखि ८ जनाको प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी हुने मन्त्री पोखरेलले जानकारी दिए।










प्रतिक्रिया दिनुहोस्