समाचार

खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण



वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण गरिएको छ ।

काठमाडौंमा मिलाप मासिकको आयोजनामा एक विशेष समारोहबीच उहाँलाई नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रि-देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार अर्पण गरिएको हो । लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा कन्हैया र स्वर माधुरी अञ्जना गुरुङले स्थापना गर्नुभएको उक्त पुरस्कार दाहाललाई अर्पण गरिएको हो ।

प्रमुख अतिथि त्रय, मिलाप मासिकका सम्पादक एवं कार्यक्रमका सभापति कृष्ण भुसाल तथा ‘टीका-गोपाल’ फाउण्डेशनकी अध्यक्ष गीता सिंह, सल्लाहकार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई ताम्रपत्र, दोसोल्ला, खादा, रुद्राक्ष माला लगाएर नगद राशीसहित पुरस्कृत तथा सम्मानित गर्नुभएको थियो । नेपाली साहित्यको विभिन्न विधा र गीतसंगीतमा योगदान पुर्‍याउँदै आउनुभएका दाहाललाई प्रदान गरिएको उक्त पुरस्कारले सिर्जनात्मक साधना र राष्ट्रिय गीतसंगीतको प्रवर्द्धनमा समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यलाई थप सार्थक बनाएको आयोजकले जनाएको छ ।

यसअघि उक्त पुरस्कार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई प्रदान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो ।

साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनामार्फत अभिव्यक्त गर्दै नेपाली वाङ्मयको समृद्धिमा पुर्‍याएको योगदानको कदरस्वरूप दाहाललाई सम्मान गरिएको टीका–गोपाल’ फाउण्डेशनकी अध्यक्ष गीता सिंहले बताउनुभयो । पुरस्कृत व्यक्तित्व दहालले आफूलाई पुरस्कार अर्पण गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्ति गर्दै यहलोक र परलोकको प्रशंग सुनाउनुभएको थियो । आफूले पुरस्कार र सम्मानका लागि साहित्य सिर्जनामा नगरेको बताउँदै निरन्तर कार्य गर्दैजाँदा विभिन्न पुरस्कार र सम्मान प्राप्त भएको बताउनुभयो ।

शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐनाका रूपमा आत्मसात् गर्दै आउनुभएका दाहाल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । दाहालका सिर्जनामा जीवनका अनुभूतिसँगै समाजका आरोह–अवरोह, सांस्कृतिक चेतना, दार्शनिक प्रश्न र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन् । उहाँका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिका लेखनसंग्रह प्रकाशित छन् ।

\उहाँको साहित्यिक व्यक्तित्व र सिर्जनामाथि पनि विभिन्न अध्ययन तथा समालोचनात्मक कृति प्रकाशित भएका छन् । ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’लगायतका कृतिले उहाँको साहित्यिक योगदानलाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । ‘मिलाप’, ‘जनमत’ र ‘बगर’लगायतका साहित्यिक पत्रिकामा उहाँका कभर स्टोरीसमेत प्रकाशित भएका छन् ।
साहित्यमा मात्र सीमित नरहेको दाहालको सिर्जनात्मक यात्रा संगीत क्षेत्रमा समेत विस्तारित छ । उहाँका काव्यिक भाव र चेतनालाई संगीतसँग जोडेर तयार पारिएको गीति एल्बम ‘जागृति’ श्रोता तथा दर्शकमाझ आएको छ । ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत समावेश छन् ।

एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकले स्वर दिनुभएको छ ।

साहित्य र संगीतलाई सिर्जनात्मक रूपमा जोड्दै नेपाली वाङ्मयमा योगदान पुर्‍याउँदै आउनुभएका दाहाललाई अर्पण गरिएको यस सम्मानले नेपाली साहित्य तथा गीतसंगीत क्षेत्रका स्रष्टाको योगदानको कदर गर्ने कोशिस गरेको आयोजकको भनाइ छ ।