धनगढी, २७ कार्तिक । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ करिब ७ बजे दुर्घटना भएको हो । धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शुक्रबार बिहान मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र ७ वर्षीया छोरी ममता चौधरी घाइते भएका छन् । त्यस्तै स्कुटरमा पछाडि सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल पनि घाइते भएका छन्।










प्रतिक्रिया दिनुहोस्