Banner News

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : मन्त्री खनाल



काठमाडौँ, २८ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर कूटनीतिक प्रयास र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन् । 

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)का क्रममा उनले जलवायु वार्ताको जटिलता र नेपालको कूटनीतिक तयारीका चुनौतीबारे आफ्नो अनुभव सुनाए । “हामीले खोजेका विषयलाई पूर्ण रूपमा स्थापित गर्न धेरै अगाडिदेखि तयारी र विभिन्न सरोकारवालाको सहभागिता आवश्यक रहेछ”, उनले भने । 

उनले १० वर्षको अभ्यासमा पनि कुनै देशले प्रस्ताव गरेको विषय तत्काल औपचारिक कार्यसूचीमा समावेश भएको उदाहरण नरहेको उल्लेख गर्दै उनले नेपालको पर्वतीय एजेन्डा औपचारिक रूपमा कार्यसूचीमा समावेश नभए पनि सम्मेलनको अध्यक्षताले परामर्श प्रक्रियामार्फत त्यसमा रहेका विषयलाई अघि बढाइरहेको बताए । 

नेपालले प्राथमिकताका साथ उठाएका १.५ डिग्री सेल्सियस तापक्रम सीमाको लक्ष्य, अनुदानमा आधारित तथा पूर्वानुमानयोग्य जलवायु वित्त र पर्वतीय क्षेत्रमा केन्द्रित अनुसन्धान एवं कार्ययोजनाका विषयमा सकारात्मक प्रगति देखिएको उनको भनाइ थियो ।