समाचार

७० लाख बढीको सामान बरामद



काठमाडौँ, ५ मंसिर । पर्साबाट प्रहरीले कार्तिक महिनामा रु ७० लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो । त्यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरिएको हो ।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत छ हजार २६३ लिटर तयारी मदिरा र छ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गर्नुका साथै सोही क्रममा ११ जना पक्राउ परेका छन् । अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिई ३९ क्युबिक काठ बरामद गरिएको छ । यसबाट रु एक लाख ९५ हजार राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।