समाचार

काठमाडौँबाट कौडा खेलिरहेका २४ जना पक्राउ



काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गएराति कौडा खेल्नेहरूलाई नियन्त्रणमा लिएको हो ।  म्हैपीस्थित श्याम शर्माको घरको ग्राउन्डमा हारजित हुने गरी कौडा खेलिरहेको सुराकको आधारमा प्रहरीले त्यहाँ छापा मारेको थियो । जुवा खालबाट प्रहरीले नेपाली रुपैयाँ ९ लाख ६० हजार र अमेरिकी डलर ४६० बरामद गरेको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा बानेश्वर बस्ने ४९ वर्षीय नीरज निरौला, बालुवाटार बस्ने वसन्त अधिकारी, म्हैपी बस्दै आएका सुजन श्रेष्ठ, लोलाङ बस्दै आएका नारायण श्रेष्ठ, बालाजु बस्ने राजेश केसी, सातदोबाटो बस्ने विनोद घिमिरे, गोङ्गबु बस्ने रामकृष्ण कार्की, चाबहिल बस्ने जलेश पाण्डे, मुलपानी बस्ने दिनेश भट्टराई, नयाँबजार बस्ने प्रदीप कँडेल, ललितपुर बस्ने माधव विष्ट र म्हैपी बस्दै आएका शालिग्राम वाग्ले, मनमैजु बस्दै आएका जयराम पाण्डे, वनस्थलीका शिव भट्ट, नयाँबजार बस्ने सन्दिप पौडेल, म्हैपी क्षेत्रमा बस्दै आएका सुनिल श्रेष्ठ, कोटेश्वर बस्ने प्रेम श्रेष्ठ र मैतीदेवी बस्ने महेश दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, खाल सञ्चालन भएको घरका धनी श्याम शर्मा, तारकेश्वर बस्ने अरुण बस्नेत, कीर्तिपुर बस्ने सुमन रिजाल, क्षेत्रपाटी बस्ने प्रदीप गौतम, मनमैजु बस्ने आनन्दराज त्रिपाठी र चाबहिल बस्ने अनिल सिलवालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।