Banner News

राष्ट्रिय स्वाभिमानमा आँच आउने गतिविधि स्वीकार्य हुँदैन : पूर्वप्रधानमन्त्री नेपाल



भक्तपुर, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् ।

शनिबार भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन् । राष्ट्रियता र स्वाधीनताको विषयलाई केवल राजनीतिक मुद्दाका रूपमा नभई मुलुकको अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषयका रूपमा लिनुपर्ने उनले बताए ।

उनले भने, ‘राष्ट्रिय जागरण अभियानको पहिलो उद्देश्य राष्ट्रियता, देशभक्ति, नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो । देशको स्वाभिमानमा आँच आउने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन ।’