काठमाडौँ, ८ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमासम्बन्धी विवादहरूलाई उच्च तहमा लगेर संवादमार्फत समाधान गर्न दुवै देशका प्रधानमन्त्रीले विदेश सचिवहरूलाई संयुक्त बैठक बस्न निर्देशन दिएको बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमण सम्पन्न भएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले सीमा विवाद समाधानका विषयमा प्रस्ट पार्दै मन्त्री खनालले नेपाल र भारतबिचका विभिन्न सीमा संयन्त्रले राम्रो काम गरिरहेको उल्लेख गरे ।
उनले भने, ‘हामीबिच भएका विभिन्न खाले विवाद र अप्ठ्याराहरूलाई शान्तिपूर्ण बाटोबाट हल गर्न चाहन्छौँ भन्ने नेपालको ऐतिहासिक अडान हो, त्यसलाई यो सरकारले पनि मानिआएको छ । हामीसँग रहेका सीमासँग सम्बन्धित विवादहरूलाई अब उच्च तहमा लगेर थप संवादमार्फत स्वाभाविक रूपमा निर्क्योलमा पुग्न चाहन्छौँ । नेपाल–भारतबिच भएको सन् १९५० को सन्धिलगायतका विभिन्न सन्धि–सम्झौताहरूलाई पुनरवलोकन गर्न तयार छौँ भनेर प्रस्टसँग बोलिसकेपछि ईपीजीभित्र भएका विषयवस्तुहरूलाई पनि सम्बोधन गर्ने गरी अहिलेको भिजन डकुमेन्ट आएको छ ।’










प्रतिक्रिया दिनुहोस्