बेइजिङ, ८ मंसिर । नेपालको विपद्पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार विपद् प्रभावित क्षेत्रका बासिन्दालाई घर पुनर्निर्माण गर्न र जतिसक्दो चाँडो सामान्य जीवन तथा काममा फर्काउन चीनले मद्दत गर्ने बताएका हुन् । चीनका विभिन्न क्षेत्रका नागरिकले समेत सहयोगको हात बढाउँदै नेपाली जनताप्रति सद्भाव र समर्थन प्रकट गरेको उनले बताए ।
विपद्ले गम्भीर क्षति पुर्याएको र पुनर्निर्माणमा ठुला चुनौतीहरू रहेको उल्लेख गर्दै प्रवक्ता गुओले भने, ‘चीनले पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ र यस विपद्प्रति नेपालको पीडामा साथ छ ।’
यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त प्रभावित क्षेत्रका जनताको घर पुनर्निर्माण गर्न र उनीहरूलाई छिटोभन्दा छिटो सामान्य काम र जीवनमा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय समर्थन गर्ने उनले स्पष्ट पारे । प्राकृतिक प्रकोपले निम्त्याउने जोखिम र चुनौतीहरूको अझ राम्रोसँग सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नसमेत चीनले सहयोग गर्ने प्रवक्ता गुओले बताए ।










प्रतिक्रिया दिनुहोस्