समाचार

ब्राउन सुगरसहित दुई युवक पक्राउ



सिरहा, १० मंसिर । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मंगलबार राति मिर्चैया नगरपालिका–३ बलुवा टोलस्थित भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेकोमा प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोज्दा दुईजना पक्राउ परेपनि अन्य एक जना फरार भएका थिए । मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा पहेँलो प्लास्टिकको पोका फेला परेको र उक्त पोकाभित्र २४.११० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन् । फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ निवासी २० वर्षीय काशिन्द्र साह रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।