काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्ने बताएका छन् ।
आज सिमरामा आयोजित पर्यटन तथा होटल व्यवसायीहरूसँगको छलफलमा मन्त्री पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावित क्षेत्रमा बसोबास गर्नेहरूलाई अन्यायमा नपर्ने गरी व्यवस्थापन गर्ने बताएका हुन् ।
उनले भने, ‘निजगढ विमानस्थल बन्छ त्यहाँ भएका प्रभावित जनता अन्यायमा नपर्ने गरी पुनः स्थापना हुन्छ’ ‘निजगढ विमानस्थलको हाम्रो लाइफलाइन हो त्रिभुवन विमानस्थल अब यो भन्दा बढी क्षमतामा चल्न सक्ने अवस्थामा छैन ।’
यता, सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरिरहँदा सो क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने टाँगिया बस्तीका नागरिकलाई भने स्थानीय जनप्रतिनिधिले पुर्जा वितरणका लागि जिल्ला स्थित भूमि आयोगमा सिफारिस पठाएका छन् ।
राष्ट्रिय गौरवको आयोजना कोर वन क्षेत्र भित्रको बस्तीलाई बसोबासकै आधारमा अव्यवस्थित बसोबासीका नाममा पुर्जा वितरणको प्रक्रिया अगाडि बढाइएको हो । पर्यटन मन्त्री पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभएकोले केही ढिला हुन गएको बताएका छन् । ‘पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सीमितताहरू छन् तर हामीले जुन आकाङ्क्षामा पर्यटनको विकास गर्न खोजिरहेका छौँ त्यसको केन्द्रको रूपमा निजगढ विमानस्थल रहेको छ’ उनले भने ‘निजगढ विमानस्थल बन्छ र बनाउनै पर्छ यसका लागि सबैको सहयोग आवश्यक पर्छ’
कार्यक्रममा सहभागी पर्यटन तथा होटल व्यवसायीहरूले पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध धार्मिकस्थल महागढी मन्दिर र लिच्छिविकालीन ऐतिहासिक नगरी सिम्रौनगढमा पर्यटन प्रवर्द्धन गर्न सङ्घीय सरकारले सहयोग गर्न आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्