ललितपुर, ११ मंसिर । ललितपुर महानगरपालिका वडा नम्बर १५ भल्पा मन्दिर नजिक भएको चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार राति बाँके कोहलपुर नगरपालिका वडा नम्बर १० घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १५ भल्पा मन्दिर नजिक डेरा गरी बस्ने २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटमा कोही नभएको मौकामा ढोकाको इनडोर ताल्चा फुटाई सुन, चाँदी, नगद तथा जिन्सी धनमाल चोरी भएको थियो ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ६ सुन्धारा घर भई हाल भक्तपुर पुरानो बसपार्क बस्ने ३६ वर्षीय प्रवेश मुनि शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर ७ दुपाट बस्ने ३७ वर्षीय अमित महर्जन र काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ७ ग्वार्को बस्ने २९ वर्षीय गोविन्द लामा रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूबाट नगद एक लाख ८५ हजार ६२० रुपैयाँ, चार थान मोबाइल तथा सुन, चाँदी र अन्य धातुका विभिन्न गरगहना बरामद गरेको छ । बरामद गरिएका सामग्रीमा सुनजस्तो देखिने पहेलो धातुका दुई थान औँठी, चार थान पहेलो टप, चार थान पहेलो रिङ, दुई थान सेतो झुम्का, एक थान पहेलो लेपन गरिएको छापे औँठी, एक थान तिलहरी, एक थान हरियो पोतेमा मुगा जडित सुनको गहना, दुई थान सुनको बाला, एक जोडी सुनको कानको टप, सुनजस्तो देखिने हार, गोलो बाला, बुट्टेदार औँठी, पत्थर जडित झुम्का तथा कानको टप रहेका छन् ।
त्यस्तै चाँदीको बाला एक थान, चाँदीको छल्ला एक थान, डेढ तोलाको चाँदीको दियो एक थान, चाँदीको ब्रासलेट एक थान, मोतीको माला एक थान, दुई थान घडी र दुई थान खाली पर्ससमेत बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दियो ।










प्रतिक्रिया दिनुहोस्