अर्थ

राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने



काठमाडौँ, ११ मंसिर । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन शुक्रबार बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुने व्यवस्था छ । राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने तथा बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको छ ।

सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेस गर्न सक्नेछन् भने संकलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी हुनेछ । यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् ।