काठमाडौँ, ११ मंसिर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन् ।
जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना पुन: विस्थापित गर्नु उचित नहुने उनको धारणा छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने उनको भनाइ छ । नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको घिसिङले बताए ।
भूमिहीन तथा सुकुमवासी समस्याको समाधान विस्थापन मात्र नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको घिसिङले उल्लेख गरेका छन् । उनले वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्न तथा दीर्घकालीन र न्यायपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्