काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमा घर भत्काएर पुनर्वासको आश्वासन दिएको सरकारले महिनौँसम्म अनिश्चिततामा राख्नु र अहिले अस्थायी आश्रयसमेत खोस्न खोज्नु आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भएको बताएका छन् ।
आचार्यले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता गरी विस्थापित सुकुम्वासीका लागि सुरक्षित आवासको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
“राज्य नागरिकको अभिभावक हो, बेघर नागरिकलाई थप बेघर बनाउने निकाय होइन,” आचार्यले भनेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्