Banner News

चीन भ्रमणबारे पार्टी सभापति लामिछानेलाई ब्रिफिङ



काठमाडौँ, ११ मंसिर । चीन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई ब्रिफिङ गर्नुभएको छ ।

नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर (सिचुवान, चच्याङ र बेइजिङ) को भ्रमण गरी महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली हिजो नोभेम्बर २६ का दिन नेपाल फर्किएको थियो । आज भएको भेटमा मुख्य राजनीतिक विषयका रूपमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे महामन्त्रीज्यूले विशेष जानकारी गराउनुभयो । सो भेटका साथै केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका सन्दर्भमा अन्तर–पार्टी सहकार्यलाई सुदृढ बनाउने विषयमा गहन राजनीतिक छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।

भ्रमणका क्रममा विभिन्न उद्योग–व्यवसायको अवलोकन तथा अन्तरक्रियाका साथै विपद्पूर्व र विपद्पश्चात्को रणनीति एवं तयारीबारे गरिएको अवलोकन र छलफलबारे पनि महामन्त्री आचार्यले सभापति लामिछानेलाई जानकारी गराउनुभयो ।

भेटघाटका क्रममा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाहरूबारे खुलेर संवाद भएको समेत महामन्त्री आचार्यले बताउनुभयो । भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद तथा देखेका, सिकेका र छलफल भएका विषयहरूलाई पार्टीभित्र र देश विकासमा लागू हुने गरी कार्यान्वयनको दिशामा लैजान सभापति लामिछानेले महामन्त्रीमार्फत भ्रमण दललाई निर्देशन दिनुभयो ।